काठमाडौं- तीव्र गतिका बलर कर्टिस क्याम्फरको सानदार प्रदर्शनमा आयरल्यान्डले आईसीसी टी२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ।
सोमबार सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गर्दै विश्वकपमा सुखद् सुरुवात गरेको हो।
जितको लागि १ सय ७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड्सले १५.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। आयरल्यान्डको जितमा ग्रेथ डेलानीले सर्वाधिक ४४ रन बनाए। उनले २९ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए।
यता, ओपनर पाउल स्टर्लिङ ३० रनमा अविजित रहे। कर्टिस क्याम्फर ७ रनमा अविजित रहे। ओपनर केभिन ओ ब्रायन ९ र कप्तान एन्डी बालबर्नी ८ रनमा आउट भए।
नेदरल्यान्ड्सका फर्द क्लासेन, पिटर सिलार र ब्रेन्डन ग्लोभरले १–१ विकेट लिए।
त्यसअघि आबूधाबीमा टस जितेर ब्याटिङको रोजेको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा १ सय ६ रनमा अल आउट भएको थियो। नेदरल्याड्सका ओपनर म्याक्स ओडाउडले सर्वाधिक ५१ रन बनाए। उनले ४७ बलमा ७ चौका प्रहार गरे।
कप्तान पिटर सिलारले २१ र भान बिकले ११ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन्।
आयरल्यान्डका कर्टिस क्याम्फरले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। मार्क आदिरले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए। जोश लिटिलको नाममा १ विकेट रह्यो।
कर्टिस बने ४ बलमा ४ विकेट लिने तेस्रो खेलाडी
आयरल्यान्डका बलर कर्टिस क्याम्फर टी २० विश्वकपमा ४ बलमा ४ विकेट लिने तेस्रो खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान टी २० क्रिकेटमा श्रीलंकाका लासिथ मालिङ्गा र अफगानिस्तानका रशिद खानले मात्र बनाएका थिए।
यसअघि २०१९ मा अफगानिस्तानका स्पिनर खानले आयरल्यान्डविरुद्ध ४ बलमा ४ विकेट लिएका थिए। २०१९ मानै श्रीलंका पूर्वतीव्र गतिका बलर मलिङ्गाले न्युजिल्यान्डविरुद्ध ४ बलमा लगातार ४ विकेट लिएका थिए।
समूह ‘ए’ को पहिलो खेलमा क्याम्फरले इनिङको १० औं ओभरमा ४ विकेट लिएका हुन्। उनले सो ओभरको दोस्रो, तेस्रो, चौथो र पाँचौं बलमा विकेट लिए।
उनले लगातार ३ विकेट लिएर जारी विश्वकपको पहिलो ह्याट्रिक बनाए। लगत्तै फालेको अर्को बलमा पनि विकेट लिएपछि उनले कीर्तिमान नै बनाए।
विश्वकपको पहिलो चरणमा आयरल्यान्ड, नामिबिया, श्रीलङ्का र नेदरल्यान्ड्स समूह ‘ए’ मा छन् भने बंग्लादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान समूह ‘बी’ मा रहेका छन्।
आयरल्यान्डले आफ्नो दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ। नेदरल्यान्ड्सले बुधबारनै नामिबियासँग खेल्नेछ। आजको दोस्रो खेलमा नामिबिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।