काठमाडौं- आयरल्यान्डका बलर कर्टिस क्याम्फर टी २० विश्वकपमा ४ बलमा ४ विकेट लिने तेस्रो खेलाडी बनेका छन्।
ओमान र यूएईमा संयुक्त रुपमा आयोजना भैरहेको विश्वकपको पहिलो चरणको सोमबारको आयरल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलमा उनले उक्त दुर्लभ कीर्तिमान बनाएका हुन्।
यसअघि यो कीर्तिमान टी २० क्रिकेटमा श्रीलंकाका लासिथ मालिङ्गा र अफगानिस्तानका रशिद खानले मात्र बनाएका थिए।
यसअघि २०१९ मा अफगानिस्तानका स्पिनर खानले आयरल्यान्डविरुद्ध ४ बलमा ४ विकेट लिएका थिए। २०१९ मानै श्रीलंका पूर्वतीव्र गतिका बलर मलिङ्गाले न्युजिल्यान्डविरुद्ध ४ बलमा लगातार ४ विकेट लिएका थिए।
समूह ‘ए’ को पहिलो खेलमा क्याम्फरले इनिङको १० औं ओभरमा ४ विकेट लिएका हुन्। उनले सो ओभरको दोस्रो, तेस्रो, चौथो र पाँचौं बलमा विकेट लिए।
उनले लगातार ३ विकेट लिएर जारी विश्वकपको पहिलो ह्याट्रिक बनाए। लगत्तै फालेको अर्को बलमा पनि विकेट लिएपछि उनले कीर्तिमान नै बनाए।
विश्वकपको पहिलो चरणमा आयरल्यान्ड, नामिबिया, श्रीलङ्का र नेदरल्यान्ड्स समूह ‘ए’ मा छन् भने बंग्लादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान समूह ‘बी’ मा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।