आगामी टी२० विश्वकपपछि भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा राहुल द्रविड नियुक्त हुने भएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहसँगको बैठकमा द्रविड मुख्य प्रशिक्षक हुन राजी भएका हुन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनलको बेला शुक्रबार साँझ दुबईमा गांगुली र शाहले द्रविडसँग छलफल गरेका थिए। उक्त छलफलमा द्रविड मुख्य प्रशिक्षक हुन सहमत भएको भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। द्रविडले पनि ट्विट गर्दै आफू प्रशिक्षक बन्न लागेको उल्लेख गरेका छन्।
द्रविड कम्तीमा सन् २०२३ को एकदिवसीय विश्वकपसम्म भारतको मुख्य प्रशिक्षक रहनेछन्। उनीसँगै बलिङ प्रशिक्षकका रुपमा पारस म्हाम्ब्रे पनि सन् २०२३ विश्वकपसम्म नियुक्त हुनेछन्।
द्रविड भारतको नेशनल क्रिकेट एकेडेमी (एनसीए) का अध्यक्ष हुन्। पारस म्हाम्ब्रे लामो समयदेखि एनसीएमा बलिङ प्रशिक्षकका रुपमा द्रविडसँगै काम गरिरहेका थिए। बीसीसीआईले फिल्डिङ प्रशिक्षक आर श्रीधरलाई भने हटाएको छैन। केही समयअघि भारतले गरेको श्रीलंका भ्रमणका क्रममा पनि द्रविड प्रशिक्षक थिए।
अहिले भारतीय टिमलाई रवि शास्त्रीले प्रशिक्षण दिइरहेका छन्। लामो समयदेखि प्रशिक्षक रहेका शास्त्रीले ४३ टेस्टमध्ये २५ वटामा जिताएका छन्। तर, पहिलो पटक आयोजित विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भने भारत न्युजिल्याण्डसँग पराजित भएको थियो।
शास्त्रीको नेतृत्वमा खेलेका ७२ मध्ये भारतले ५१ ओडीआई र ६० मध्ये ४९ टी२० आई जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।