काठमाडौं- यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिड्दै छन्।
फाइनल खेलमा कोलकाताले टस जितेर फिल्डिङ रोज्दै चेन्नईलाई ब्याटिङका लागि निम्त्याएको छ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौथो पटक आईपीएलको उपाधि जित्ने योजनामा रहेको छ। चेन्नई पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर फाइनल पुगेको हो।
त्यसैगरी, इयान मोर्गनको कप्तानीमा रहेको कोलकाता भने तेस्रोपटक आईपीएलको उपाधि जित्ने लक्ष्यमा रहेको छ। कोलकाताले दोस्रो क्वालिफायरमा दिल्लीलाई हराएको थियो।
यी दुई बीचको पछिल्लो खेलको नतिजा हेर्दा चेन्नई बलियो देखिएको छ। पछिल्लो पाँच भेटमा चेन्नईले ४ जित निकाल्दा एक मात्र जित कोलकाताले निकालेको छ।
यसै वर्षको पछिल्लो दुई भेटमा चेन्नईले जित हात पारेको थियो। लिग चरणअन्तर्गत अप्रिलमा भएको खेलमा चेन्नईले कोलकाताविरुद्ध १८ रन र सेप्टेम्बर २६ मा भएको खेलमा चेन्नईले २ विकेटको जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।