काठमाडौं– नेपालीहरूको महान् चाड बडादशैंको आज मुख्य दिन विजया दशमीको अवसरमा मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै छ।
दशैंको पहिलो दिन घटस्थापना गरी सुरु गरेको दुर्गा पूजा आज बिहान ८ः१९ बजे देवी विसर्जन गरेर बिहान १० बजेर ०२ मिनेटपछि टीका लगाउन थालिएको छ।
विजया दशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत रहेको छ। विजया दशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ।
घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रुपमा लगाइन्छ। घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ।
केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन्।
शुभ साइतको टीका लगाउन शुरू भएसँगै सडकमा मानिसहरुको चहलपहल बढेको छ। सुनसान देखिएको काठमाडौँका सडक पनि टीका र जमरा लगाएका मानिसहरुको चहलपहल सुरू भएको हो। विजयादशमीका लागि मान्यजनकोमा जानका लागि मानिसहरु घरघरबाट निस्किएका छन् । यसका कारण सवारीसाधनमा चाप देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।