काठमाडौं– कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ। सोमबार राति सारजाहमा सम्पन्न एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो।
हारसँगै बैंग्लोर प्रतियोगताबाट बाहिरिएको छ भने कोलकाताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ।
बैंगलोरले दिएको १ सय ३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो। कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन जोडे।
यस्तै सुनिल नारिन तथा वैंकटेश एयरले समान २६/२६ रन बनाए। नितिश रानाले २३ रन जोड्दा दिनेश कार्तिकले १० रन आउट भए।बैंग्लोरका हर्सल पटेल, मोहमद सिराज र युजभेन्द्र चाहलले समान २/२ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो।
बैंग्लोरका कप्तान विराट कोहलीले सर्वाधिक ३९ रन जोडे भने देबदुत पडिकलले २१ रन बनाए। ग्लेन म्याक्सवेल १५ रनमा आउट हुँदा साहबाज अहमेदले १३ रन जोडे भने एबी डी भिलियर्स ११ रनमा आउट भए।
कोलकाताका सुनिल नारिनले ४ विकेट तथा लक्की फर्गुसनले २ विकेट लिए।
अब कोलकाता र दिल्ली क्यापिटल्सबीचको दोस्रो क्वालिफायर खेल बुधबार हुनेछ। यसअघि आइतबार भएको पहिलो क्वालिफायर खेलमा दिल्ली चेन्नईसँग पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।