काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर अफ द मन्थ) अवार्ड जितेका छन्।
आईसीसीले गत बुधबार सार्वजनिक गरेको 'प्लेयर अफ द मन्थ'को मनोनयनबाट सन्दीपले बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याट्सम्यान जसकरण मल्होत्रालाई पछि पारेका हुन्।
अघिल्लो महिना ओमान भ्रमणमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै छ खेलमा १८ विकेट लिएका थिए। ओमान भ्रमणमा पीएनजीलाई पहिलो खेलमा सस्तैमा समेट्न सन्दीपले पहिलो खेलमा १० ओभरमा ३५ रन खर्चेर चार विकेट लिएका थिए। दोस्रो खेलमा सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर छ विकेट लिएका थिए।
अमेरिकालाई पाँच विकेटले पराजित गर्दा सन्दीपले दुई विकेट लिए। अमेरिकासँग दोस्रो खेलमा दुई विकेट लिँदा अन्तिम खेलमा ओमानलाई पराजित गर्न चार विकेट लिएका थिए।
सन्दीप आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोयनमा पर्ने दोस्रो नेपाली खेलाडी हुन्। यसअघि गत वैशाखमा ओपनर कुशल भुर्तेल अप्रिलमा यस मनोयनमा परेका थिए।
यता, बंगलादेशका स्पिनर नासुमले अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध पहिलोपटक पाँच टी-२० आई सिरिज जिताउन आठ विकेट लिएका थिए।
यस अवार्डको विजेता आईसीसीकै प्यानल र खुला मतदानको मतअनुसार घोषणा भएको हो। आईसीसीको प्यानलमा पूर्वखेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहेको छ। आईसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।