काठमाडौं– चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
तीन पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनलमा पुगेको छ। आइतबार राती सम्पन्न पहिलो क्वालिफायर खेलमा
दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७० रन बनाए भने रोबिन उथप्पाले ६३ रन जोडे।
कप्तान महेन्द्र सिंह धोनीले अविजित १८ रन जोड्दा मोइन अलीले १६ रन बनाए। दिल्लीका टम करणले ३ विकेट लिए। एन्रिच नोर्किया र अभेस खानले समान एक/एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। दिल्लीका लागि पृथ्वी शले ६० रनको अर्धशतकीय पारी खेले भने कप्तान ऋषव पन्तले अविजित ५१ रन बनाए। शिम्रन हिटमायरले ३७ रन जोड्दा अक्षर पटेलले १० रन जोडे।
चेन्नईका जोस हाजलउडले २ विकेट लिए। रविन्द्र जडेजा, मोइन अलि र ड्वाने ब्राभोले समान १/१ विकेट लिए।
सोमबार एलिमिनेटर खेलमा तेस्रो स्थानको रोयल च्यालेन्जर्स बैंग्लोर र चौथो स्थानको कोलकता नाइट राइडर्सबीच शाहजाहमा प्रतिस्पर्धा हुनेछ। एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा दिल्लीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल शुक्रबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।