काठमाडौं- चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) फाइनलमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन्। दुबै टोलीले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन्।
पोखराको विनोद भण्डारी र चितवनको सोमपाल कामीले नेतृत्व गर्नेछन्। दुबै कप्तानले ईपीएलमा पहिलो फाइनल खेल्दैछन्।
पाँच खेलमा तीनमा जित र एकमा हारसहित सात अंकका साथ दोस्रो स्थानमा रहँदै पोखराले क्वालिफायर खेलेको थियो। क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सलाई सात विकेटले पराजित गर्दै पोखराले फाइनलमा स्थान पक्का गरेको थियो।
पोखरा चितवनसँग लिग र पहिलो क्वालिफायर दुवैमा पराजित भएको थियो। पहिलो क्वालिफायर चितवनले पोखरालाई नौ विकेटले पराजित गरेको थियो भने लिगमा पनि चितवनले पोखरालाई नौ विकेटले नै पराजित गरेको थियो।
पोखराका कप्तान विनोदले आफूहरुले चितवनविरुद्धको दुवै खेलमा पहिला ब्याटिङ गर्दा राम्रो योगफल दिन नसकेको स्वीकार गर्छन्। यद्यपि, फाइनल खेल भने दबाबरहित खेल्ने उनले बताएका छन्।
यता, लिगमा पाँच खेलमा जित र एकमा हारसहित शीर्षस्थानमा रहँदै चितवनले क्वालिफायर खेलेको थियो। चितवनका कप्तान सोमपालले एक-अर्कालाई कमजोरी राम्रोसँग थाहा भएको बताउँदै योजना अनुसार खेल्ने बताएका छन्।
पोखरा प्लेइङ ११ :
विनोद भण्डारी (कप्तान), विपिन रावल, विक्रम सोब, लोकेश बहादुर बम, रित गौतम, विवेक कुमार यादव, किशोर महतो, नन्दन यादव, रिचार्ड लेभी, साहन अर्चाचिगे र असेला गुणरत्ने।
चितवनको प्लेइङ ११ :
दीलिप नाथ, सोमपाल कामी (कप्तान), मोहम्मद शाहजाद, हासिम अन्सारी, सागर ढकाल, कमलसिंह ऐरी, भीम सार्की, शेकुगे प्रसन्ना, करिम जन्नत, साहब आलम, राजेश पुलामी मगर।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।