काठमाडौं– आगामी असार १, २ र ३ गते ललितपुरमा विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन आयोजना हुने भएको छ।
विज्ञान, सूचना र प्रविधिको क्षेत्रमा कार्यरत जनशक्तिको पहिचान गरी उनीहरुलाई राष्ट्र निर्माणमा सहभागी गराउने उद्देश्यका साथ युवा तथा खेलकुद मन्त्रालयले युवा सम्मेलन आयोजना गर्न लागेको हो।
सम्मेलनले प्रविधिको क्षेत्रका कार्यरत जनशक्तिहरुको पहिचान गरी मुलुक निर्माणमा लगाउन ठोस योजना तय गर्ने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिए।
सम्मेलनबारे जानकारी दिन बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मुलुकको विकासका लागि आवश्यक प्राविधिक जनशक्तिको पहिचान गराउन पनि सम्मेलन सफल हुने विश्वास व्यक्त गरे।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ। मुलुकको विकास र समृद्धिका लागि अबको १० वर्षमा विज्ञान, प्रविधिको क्षेत्रमा आवश्यक लगानी र त्यसको परिणामको बारेमा सम्मेलनमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।