चितवन– चितवनबाट प्रकाशन हुँदै आएको चितवन पोष्ट राष्ट्रिय दैनिकका सम्पादक धर्मराज अर्यालको आज निधन भएको छ। मधुमेह, उच्च रक्तचाप तथा श्वासप्रश्वास सम्बन्धि समस्याबाट ग्रसित पत्रकार अर्यालको ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो।
चितवन मेडिकल कलेजमा उपचाररत उनलाई मंगलबार मात्रै भरतपुर महानगरपालिका–१० स्थित आफ्नै घरमा लगिएको थियो। उनको आज बिहान ११ः३० बजे निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।
२०१२ मंसिर २९ गते चितवन, कोराकमा जन्मिएका अर्यालले पत्रकारिता विषयमा स्नातक गरेका छन्। २०३८ सालमा राष्ट्रिय समाचार समितिबाट उनले पत्रकारिता सुरु गरेका हुन्। १५ वर्षसम्म राससको क्षेत्रीय कार्यालय पोखरा, बुटवल लगायत क्षेत्रमा रहेर काम गरेका अर्याललाई चितवनका पाका पत्रकारका रुपमा चिनिन्छ।
पत्रकार अर्यालले २०५४ साल पुस ९ गतेदेखि ‘चितवन पोष्ट’ साप्ताहिक रुपमा प्रकाशन गरी २०५६ साल साउन १ गतेदेखि दैनिक प्रकाशन गर्दै आएका थिए। स्थापनाकालदेखि नै सम्पादक तथा प्रकाशक रहेका अर्याल निरन्तर पत्रकारितामा क्रियाशील थिए।
पत्रकारिताका अलावा उनले साहित्य क्षेत्रमा समेत आफूलाई क्रियाशील बनाउँदै आएका थिए। उनका मातृभूमिको गीत(२०३६), सिर्जनाका धुनहरु(२०५६), तिम्रा मेरा बातहरु(२०६०), अन्तर्मनका छालहरु(२०६९), प्रतिनिधि कविताहरु(२०७१) र तृष्णा(२०७४) गरी ६ वटा कविता संग्रह प्रकाशन भएका छन्।
अर्यालका श्रीमती र दुई छोरा छन्। उनको आजै देवघाटमा अन्त्येष्टि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।