काठमाडौं- पोखरा राइनोजका कप्तान विनोद भण्डारीले फाइनल खेल भनेर धेरै सोच्न आवश्यक नरहेको बताएका छन्।
चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) फाइनलमा शनिबार चितवन टाइगर्स र पोखराबीच प्रतिस्पर्धा हुँदै छ। दुवै टोली ईपीएलमा पहिलोपटक फाइनलमा पुगेका हुन्।
फाइनल खेलअघि पत्रकारहरुसँग बोल्दै भण्डारीले फाइनल पुग्ने दुवै टोली राम्रो रहेको उल्लेख गर्दै 'हाम्रो मात्र राम्रो' भन्न नमिल्ने बताए।
‘फाइनल हो। फाइनल पुग्ने दुवै टोली राम्रा छन्। हाम्रो मात्र राम्रो भन्न मिल्दैन। धेरै सोचेर भन्नु पर्दैन। फाइनलमा जुन टोलीले राम्रो खेल्छ त्यही टोलीले जित्ने हो,' उनले भने।
पाँच खेलमा तीन मा जित र एकमा हारसहित सात अंकका साथ दोस्रो स्थानमा रहँदै पोखराले क्वालिफायर खेलेको थियो। क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सलाई सात विकेटले पराजित गर्दै पोखराले फाइनलमा स्थान पक्का गरेको थियो।
पोखरा चितवनसँग लिग र पहिलो क्वालिफायर दुवैमा पराजित भएको थियो। पहिलो क्वालिफायर चितवनले पोखरालाई नौ विकेटले पराजित गरेको थियो भने लिगमा पनि चितवनले पोखरालाई नौ विकेटले नै पराजित गरेको थियो।
विनोद आफूहरुले दुवै इनिङ्समा पहिला ब्याटिङ गर्दा राम्रो योगफल दिन नसकेको स्वीकार गर्छन्। यद्यपि, फाइनल खेल भने दबाबरहित खेल्ने उनले बताए।
‘फाइनल पहिला पनि खेलेको हो। फाइनलमा निक्कै दबाब हुन्छ। भोलिको खेलमा पनि दबाब हुन्छ। यसलाई कसरी सम्हालेर जाने भन्ने हुन्छ। सामान्य खेल सम्झेर खेल्नेछौं,' विनोदले भने।
यता, चितवनका कप्तान सोमपाल कामीले एक-अर्कालाई कमजोरी राम्रोसँग थाहा भएको बताउँदै योजना अनुसार खेल्ने बताए।
‘एक-अर्कालाई कमजोरी राम्रोसँग थाहा छ। मेरा लागि फाइनलभन्दा पनि एउटा खेल जस्तै हो। अझै एउटा अवसर छ। जति पनि योजना बनाएका थियौं त्यसैमा काम गर्ने हो,' उनले भने।
उनले खेलाडी भएपछि आत्मविश्वासी हुनुपर्ने उल्लेख गर्दै फाइनललाई दबाबमा लिन नहुने बताए।
‘यो सिक्ने कुरा हो। खेलाडी भएपछि आत्मविश्वास हुनुपर्छ। दबाबभन्दा पनि जिम्मेवारी जति धेरै हुन्छ त्यति नै प्रदर्शन गर्न मज्जा आउँछ,’ उनले भने।
लिगमा पाँच खेलमा जित र एकमा हारसहित शीर्षस्थानमा रहँदै चितवनले क्वालिफायर खेलेको थियो। ईपीएलको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।