फाइल तस्बिर
काठमाडौं- नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिका लागि आवेदन माग्ने निर्णय गरेको छ।
संघको असोज २० र २१ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिका लागि एक हप्ताभित्र १५ दिनको समय सीमा राखि आवेदन माग गर्ने निर्णय गरेको क्यानले जनाएको छ।
यसअघिका प्रशिक्षक डेभ वाट्मोर बरोडा क्रिकेट एसोसिएसनसँग आवद्ध भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन भएको छ।
बैठकले संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्यालले दिएको राजीनामा स्वीकृत गर्दै नेपाली क्रिकेट विकासका लागि उनीहरुले पुऱ्याएको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ।
बैठकले संघको विधान बमोजिम तत्कालका लागि रिक्त रहेको सचिव पदमा केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ललाई कार्यवाहक सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ। भने क्यानको आगामी वार्षिक साधारण सभा डिसेम्बर १५, २०२१ गर्ने निर्णय गरेको छ।
संघको विधान बमोजिम कर्णाली प्रदेशमा प्रदेश मातहत न्यूनतम ४ जिल्ला हुनुपर्ने वैधानिक व्यवस्था भएबमोजिम कालिकोट, सल्यान, दैलेख र रुकुम पश्चिमलाई मान्यता प्रदान गर्ने बैठकले निर्णय गरेको छ।
भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स सँगको सहकार्यमा नेपाल क्रिकेट संघले नेपाल टी-२० लिग आयोजना गर्ने गरी गरेको सम्झौता कार्यान्वयन गर्न नेपाल सरकारले हालसम्म पनि अनुमति प्रदान नगरेको साथै सो कम्पनीले सरकारको अनुमति पूर्व गर्नु पर्ने सम्झौता अनुरूपका कार्यहरू सम्पन्न गर्न नसकेको हुँदा उक्त सम्झौता रद्द गर्ने गरी प्रक्रिया अघि बढाउने बैठकले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।