काठमाडौं- भैरहवा ग्ल्याडियटर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणको दोस्रो क्वालिफायरमा पुगेको छ।
बुधबार भएको एलिमिनेटर खेलमा भैरहवाले काठमाडौं किंग्स इलेभेनलाई १६ रनले पराजित गर्दै लगातार चौथो पटक फाइनल नजिक पुगेको छ।
जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनायो।
काठमाडौंका असान प्रियंजनले सर्वाधिक ६८ रनको योगदान दिए। उनले ४८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
जनक प्रकाशले २८ रन जोड्दा अमित श्रेष्ठले १९ रन बनाए। दिनेश अधिकारीले १५ तथा राजु रिजाल १० रनमा आउट भए।
भैरहवा कुशल मल्ल र आरिफ शेख, धाम्मिका प्रसादले २/२ विकेट लिए। दुर्गेश गुप्ताले १ विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो। भैरहवा कप्तान शरद भेषावकरले सर्वाधिक ४९ रनको योगदान दिए।
उनले २० बलमा ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै, प्रदिप ऐरीले ३९ र उपुल थरंगाले ३५ रन जोडे। कुशल मल्लले ३२ , आरिफ शेखले १५, तमिम इकबाल ९, रोहित पौडेल १ र धमिका प्रसादले १ रन जोडे।
असान प्रियंजन र कप्तान सन्दीप लामिछानेले २/२ विकेट लिए। शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले १/१ विकेट लिए।
अब फाइनल प्रवेशको लागि भैरहवाले बिहीबार दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग खेल्नेछ।
चितवन टाइगर्सले पहिलो क्वालिफायरमा पोखरालाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। फाइनल शनिबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।