काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘प्लेयर अफ द मन्थ’ सेप्टेम्बरको मनोयनमा परेका छन्।
ओमानमा भएको आईसीसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँग दुई ओडिआई खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि ‘प्लेयर अफ द मन्थ’को मनोनयन सूचिमा परेका हुन्।
आईसीसीले बुधबार सार्वजनिक गरेको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रा परेका छन्।
अघिल्लो महिना ओमान भ्रमणमा सन्दीपले सर्वोत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए। ओमान भ्रमणमा पीएनजीलाई पहिलो खेलमा सस्तैमा समेट्न सन्दीपले पहिलो खेलमा १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिएका थिए। दोस्रो खेलमा सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए।
अमेरिकालाई पाँच विकेटले पराजित गर्दा सन्दीपले दुई विकेट लिए। अमेरिकासँग दोस्रो खेलमा दुई विकेट लिँदा अन्तिम खेलमा ओमानलाई पराजित गर्न चार विकेट लिएका थिए।
सन्दीप आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोयनमा पर्ने दोस्रो नेपाली खेलाडी हुन्। यसअघि गत वैशाखमा ओपनर कुशल भुर्तेल अप्रिलमा यस मनोयनमा परेका थिए।
यता, बंगलादेशका स्पिनर नासुमले अष्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध पहिलो पटक पाँच टि२० आई सिरिज जिताउन ८ विकेट लिएका थिए।
यस अवार्डको विजेता आईसीसीकै प्यानल र खुला मतदानको मत अनुसार घोषणा हुनेछ। आईसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहनेछ। आईसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार हुनेछ। दुवै जोडेर सर्वाधिक मत प्राप्त गर्ने खेलाडीले अवार्ड जित्नेछ। यस अवार्डको विजेता अर्को सोमबार घोषणा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।