धनकुटा- कोशी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारणलाइन निर्माण सम्पन्न भएको छ। पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्रतार तान्ने कार्य सम्पन्न भएको हो।
नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैकद्वारा धनकुटाको हिलेमा सोमबार संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प्याकेज अन्तर्गतको प्रसारणलाइन निर्माण सम्पन्न भएको घोषणा गरिएको छ।
अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारणलाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो। एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ।
कोशी करिडोर प्रसारणलाइन आयोजनामार्फत् तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब १००० मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब १००० मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब २००० मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ। साथै, प्रदेश १ का जिल्लाहरुमा विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्ने प्राधिकरणले जनाएको छ।
कार्यक्रममा एक्जिम बैंकका प्रतिनिधि विश्जजित गर्गले प्रसारणलाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरे।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारणलाइन निर्माणपछि प्रदेश १ मा विद्युत प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए। कोशी करिडोर र कावेली करिडोर प्रसारणलाइनलाई लिंक गर्न लागिएको जानकारी दिँदै उनले आयोजनाअन्तर्गतका सबस्टेसनहरुको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने बताए।
ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारणलाइनको निर्माणबाट अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत ग्राहककोसम्म पुर्याउन पूर्वाधार तयार भएको बताए। प्रसारणलाइन निर्माणपछि यस क्षेत्रका खोलानालामा जलविद्युत आयोजना निर्माणका लागि निजी क्षेत्रको लगानीलाई थप सुनिश्चित बनाएको बताए।
नेपाल र भारतबीचको सहकार्यका लागि ऊर्जा प्रमुख क्षेत्र रहेको बताउँदै भारतीय दूतावासकी उपप्रमुख खाम्पाले भारतले जारी गरेको क्रस बोर्डर विद्युत व्यापार निर्देशिकाका बमोजिम नेपालले भारतबाट विद्युत खरिद गर्न मात्र नभएर बिक्री गर्न समेत पाउने बताए।
प्रधिकरणले कोशी कोरिडोरमा नीजि तथा सरकारी तवरमा निर्माण हुने जलविद्युत आयोजनाहरुको वर्तमान कार्य प्रगति तथा भावी योजनालाई मध्यनजर आयोजनाहरुबाट उत्पादन हुने विद्युत प्रसारणको लागि सो लाईनको दोस्रो सर्किटको तार तान्ने कार्य र सम्बन्धित सवस्टेशनहरुमा २२० केभी लाइन वे तथा पावर ट्रान्सफर्मरहरुको क्षमता विस्तार गर्ने योजना बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।