काठमाडौं– चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज (बुधबार) देखि प्लेअफ चरणका खेल सुरु हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुनेछ।
क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने एलिमिनेटरमा काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ।
चितवन र पोखराबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ। सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहदै क्वालिफायर पुगेको हो। त्यसैगरी, विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्न लागेको हो।
चितवन र पोखराको खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्नुपर्नेछ। दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ।
बुधबार नै हुने काठमाडौं र भैरहवाबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ। शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौथो स्थानमा रहदै एलिमिनेटर खेल्न लागेका हुन्। यसअघि यी दुई बीचको लिग चरणको अन्तिम खेल हुन सकेको थिएन।
प्रतियोगितामा छ सहरका फे्रन्चाइज टिम सहभागी थिए। विराटनगरको र ललितपुरको टिम लिग चरणबाटै बबाहिरियो। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने आयोजकले जनाएका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।