काठमाडौं- चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत वर्षाले प्रभावित बनेको खेलमा सोमबार पोखरा राइनोज विजयी भएको छ। पोखराले ‘डकवर्थ लेविस’ नियमको आधारमा काठमाडौं किंग्स इलेभेनलाई १४ रनले पराजित गरेको हो।
त्रिवि मैदानमा वर्षा सुरु भएपछि खेल स्थगित गरिएको थियो। १८३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १५ ओभरमा ५ विकेट गुमाउँदै १४२ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो। यो अवस्थामा ‘डकवर्थ लेविस’ नियमको आधारमा पोखरालाई १४ रनले विजयी घोषणा गरिएको हो।
प्लेअफमा स्थान बनाउन काठमाडौंलाई यो खेल जित्नैपर्ने दबाब थियो। खेल रोकिँदा पोखरालाई जितको लागि ३० बलमा ४१ रन आवश्यक रहेको थियो।
पोखराका विवेक यादव ४१ रनमा अविजित रहे। उनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए। लोकेश बम १८ रनमा अविजित रहे।
श्रीलंका ब्याट्सम्यान असान अर्चाचिगे ४३ रनमा क्याच आउट भए। ओपनर रिचार्ड लेभीबाट १७, कप्तान विनोद भण्डारी ५ र रित गौतम २ रनमा क्याच आउट भएका थिए।
काठमाडौंका जितेन्द्र मुखियाले सर्वाधिक २ विकेट लिए। त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो।
काठमाडौंका अमित श्रेष्ठले सर्वाधिक ५६ रनको योगदान दिए। उनले ४१ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
यता, रायन बर्ल ५० रनमा आउट भए। उनले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गरे।
कमजोर सुरुआत गरेको काठमाडौंलाई तेस्रो विकेटका लागि बर्ल र अमितले १ सय ६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए।
तल्लो क्रममा कप्तान सन्दीप लामिछानेले ११ बलमा २ चौका र ३ छक्कासहित ३१ रनको आक्रामक इनिङ्स खेल्दै टोलीलाई बलियो योगफलमा पुर्याए।
ओपनर रहमानउल्लाह गुरबाज १२ रनमा रन आउट भए। अमरसिंह राउटेलाले ७ र सुवास खकुरेल २ रनमा एलबीडब्लू आउट भए।
पोखरा तीव्र गतिका बलर विवेक यादवले सर्वाधिक ३ विकेट लिए। उनले ३ विकेट लिन १ ओभरमा ७ रन खर्चेका थिए।
साहन अर्चाचिगे, विक्रम सोब, नन्दन यादव र किशोर महतोले एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।