भैरहवा– भैरहवास्थित सिद्धार्थ बस टर्मिनलको स्तरोन्नति गर्दै सुविधासम्पन्न बसपार्कको रुपमा विकास गर्न थालिएको छ। अहिलेको बसपार्क साँघुरो भएपछि सुविधासम्पन्न बसपार्क निर्माण थालिएको हो।
अहिलेको बसपार्कको पछाडि रहेको ५ बिघा १० कठ्ठा क्षेत्रफलमा बसपार्क निर्माण थालिएको हो। १२ करोड ३१ लाख ९१ हजार ९ सय ७९ को लागतमा लुम्बिनी अर्घाखाँची बाबुल जेभीले बसपार्क निर्माणको ठेक्का लिएर काम गरिरहेको छ।
२०७४ असार २१ गते सम्झौता भई काम सुरु भएको सिद्धार्थ बसपार्क विस्तार आयोजनाको हालसम्म ६० प्रतिशत भौतिक तथा ३० प्रतिशत वित्तीय प्रगति भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रुपन्देहीका इञ्जिनियर घनश्याम श्रेष्ठले बताए। बसपार्कको स्तरोन्नतिपछि यो बसपार्क बुटवलको बसपार्कभन्दा ठूलो र सुविधासम्पन्न हुने बताए।
२०७५ असोज मसान्तसम्म सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको बसपार्क निर्माणको काम निर्धारित समयमै सक्नगरी धमाधम काम भइरहेको ठेक्काको जिम्मेवारी पाएका निर्माण व्यवसायी नारायण पौडेलले बताए।
‘सम्झौताको म्यादभित्र २ वर्षायाम परेकाले ८ महिनामा चाहे अनुरुपको काम गर्न पाएनौं, त्यही पनि म्यादभित्रै काम सम्पन्न गर्छौँ’, उनले भने।
बसपार्क परिसरमा पार्किङ स्थलका साथै सार्वजनिक शौचालय, फुटपाथ, वर्कसप भवन, यात्रु प्रतीक्षालय, हरियाली, सोलार बत्तीको सुविधा लगायतका संरचना रहने इञ्जिनियर श्रेष्ठले बताए।
बसपार्कको स्तरोन्नतिपछि सःशुल्क रुपमा निजी तथा सार्वजनिक सवारीसाधन पार्किङ गर्न सकिने र उक्त बसपार्कमा १ सय ५० भन्दा बढी सवारी साधन पार्किङ गर्न मिल्ने इञ्जिनियर श्रेष्ठले उल्लेख गरे।
सिद्धार्थ यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष सुनिलराज विष्टले भने बसपाको स्तरोन्नति गरिसकेपछि कम्तीमा पनि ५ सय बस पार्किङ गर्न सकिने खालको बनाउनुपर्ने धारणा राखे।
‘अहिलेलाई दैनिक दुई सय/साढे दुई बस पार्किङ गर्न मिले पनि पछिलाई समस्या हुन्छ, यसैले पछिका लागि अहिले नै ठूलो बनाउनुपर्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।