काठमाडौं- युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेटमा दर्शकलाई अनुमति दिइने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आइतबार विश्वकप हेर्न स्टेडियमको क्षमताअनुसार ७० प्रतिशत दर्शकलाई अनुमति दिने निर्णय गरेको हो।
आईसीसीका कार्यवाहक सीईओ जेफ एलार्डिसले एक वक्तव्य जारी गर्दै भनेका छन्, 'टी २० विश्वकपमा दर्शकहरुको प्रवेश अनुमति र सुरक्षा प्रदान गरेकोमा युएई सरकारप्रति आभारी छौं। हामी यस प्रतियोगितामा भाग लिने सबै १६ देशहरुका खेलप्रेमीहरुले खेलको आनन्द लिएको हेर्न चाहान्छौं।'
यता, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) सचिव जय शाहले पनि युएई र ओमान सरकारलाई धन्यवाद दिएका छन्।
'टी २० विश्वकप यूएई र ओमानमा दर्शकहरुको उपस्थितिमा हुनेछ। हामी युएई र ओमान सरकारलाई धन्यवाद दिन्छौं, खेलप्रेमीहरुलाई प्रवेश दिनुभयो,' उनले भनेका छन्।
यस्तै, उनले खेल हेर्नका लागि टिकटको बिक्री सुरू भएको पनि जानकारी दिए। उनले खेल हेर्न स्टेडियम पुग्ने सबैलाई प्रोटोकल पालना गर्न अनुरोध गरेका छन्।
कोरोना महामारीको कारण भारतबाट सरेको विश्वकप १७ अक्टोबरबाट १४ नोभेम्बरसम्म हुनेछ।
प्रतियोगिताको पहिलो चरणमा ८ टोलीले सहभागिता जनाउनेछन्। जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्यूगिनी भिड्नेछन्।
यसका ४ टिम सुपर १२ मा प्रवेश गर्नेछन्। सुपर १२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्यूजिल्याण्ड, अफगानिस्तान र पहिलो राउण्डको समूह 'बी' विजेता र समूह 'ए'को उपविजेता यस समूहमा रहने छन्।
यस्तै, समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज रहेका छन्। पहिलो राउण्डको समूह 'ए'को विजेता र समूह 'बी'को उपविजेता यस समूहमा रहने छन्।
विश्वकपको पहिलो खेल १७ अक्टोबरमा मस्कटमा ओमान र पपुवा न्यूगिनीबीच रहेको छ। बंगलादेश र स्कटल्याण्ड सोही दिन भिड्नेछन्।
सुपर १२ को पहिलो खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अबुधाबीमा २३ अक्टोबरमा हुनेछ। भारतले आफ्नो पहिलो खेल २४ अक्टोबरमा दुबईमा पाकिस्तानसँग खेल्नेछ।
अबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ। दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।