काठमाडौं- लगातार चौंथो जितसँगै चितवन टाइगर्सले पहिलो पटक एभरेष्ट प्रिमियर लिग (ईपीएल)को क्वालिफायरमा स्थान बनाएको छ।
आइतबार भएको खेलमा साविक विजेता ललितपुर प्याट्रियटर्सलाई ५ विकेटले पराजित गर्दै चितवनले क्वालिफायरमा स्थान पक्का गरेको हो।
जितको लागि १ सय ९ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १७.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
चितवनका ओपनर मोहम्मद शाहजादले ३५ रनको योगदान दिए । उनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
यता, भीम सार्की २७ रनमा क्याच आउट भए । मलेसिया युवा स्टार विरनदीपले १३ रन बनाए। दीलिप नाथ १६ र राजेश पुलामी मगर ६ रनमा अविजित रहे।
डेब्यू खेल खेलेका युवा ब्याटर खडक बोहरा शून्यमा क्याच आउट भए। करिज जन्नत १ रनमा क्याच भए।
ललितपुरका रिजन ढकाल र आजमतुल्लाह ओमरजाईले २/२ विकेट लिए। योगेन्द्रसिंह कार्कीले १ विकेट लिए ।
त्यसअघि टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो ।
ललितपुरका जयकिशन कोल्सावालाले सर्वाधिक ४२ रनको योगदान दिए। उनले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गरे।
ओपनर सान्दुन विराक्कोडी १४ रनमा आउट भए। चितवनसामू ललितपुरका ८ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सूर्य तामाङ ११ रनमा अविजित रहँदा ललित राजवंशीले अविजित ९ रन बनाए।
ललितपुरलाई सस्तैमा समेट्न चितवनका कमलसिंह ऐरीले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ३ विकेट लिए।
यता, सागर ढकालले र करिम जन्नतले २/२ विकेट लिए। साहब आलमको नाममा १ विकेट रह्यो।
चितवन ४ खेलमा ४ जितसहित शीर्ष स्थानमा छ। चितवनले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछ। चितवनले लिगको अन्तिम खेल सोमबार भैरहवासँग खेल्नेछ। उक्त खेलमा विजयी भए शीर्षस्थानमा रहने छ। उक्त खेलमा पराजित भएपनि भैरहवा नजितामा शीर्ष वा दोस्रो स्थानमा रहने निर्धारण हुने छ।
चितवन पहिलो क्वालिफायरमा पराजित भएपनि फाइनलमा पुग्न एलिमिनेटरको विजेतासँग खेल्ने छ।
लिगका शीर्ष दुई टोलीबीच पहिलो क्वालिफायर बुधबार हुनेछ। बुधबार तेस्रो र चौंथो स्थानका टोलीबीच एलिमिनेटर हुनेछ। पहिलो क्वालिफायरको पराजित र एलिमिनेटरबीचको विजेताबीच फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर बिहीबार हुनेछ। फाइनल शनिबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।