काठमाडौं– चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (आइतबार) दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स भिड्नेछन्।
काठमाडौं र विराटनगरबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ। २ खेलबाट २ अंक जोडेको काठमाडौं पाँचौं स्थानमा रहेको छ।
करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जित निकाल्न चाहन्छ। प्रतियोगिताबाट बाहिरिसकेको विराटनगरले ४ खेलमा जित निकाल्न सकेको छैन।
ललितपुर र चितवनबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ।कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ। ललितपुर चौंथो स्थानमा रहेको छ ।
चितवन ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। सोमपाल कामीको कप्तानीमा रहेको चितवन प्ले अफमा पुगिसकेको छ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन्। इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।
क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।