काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोउल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। यशस्वी जैसवाल र शिवम् दुबेको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो। जितसँगै राजस्थानले प्लेअफको सम्भावना कायमै राखेको छ।
जितको लागि १ सय ९० रनको लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
राजस्थानको जितमा दुबे ४२ बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ६४ रनमा अविजित रहे। आईपीएलमा डेब्यू खेल खेलेका ग्लेन फिलिप्स ८ बलमा १ चौका र १ छक्का सहित १४ रनमा अविजित रहे।
जैसवाल २१ बलमा ६ चौका र ३ छक्कासहित ५० रन बनाए। जैसवालले पाँचौं ओभरको पाँचौं बलमा जोश हेजलवुडलाई लङअफमा छक्का प्रहार गर्दै १९ बलमै अर्धशतक पूरा गरेका थिए।
आबुधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो। चेन्नईका ओपनर ऋतुराज गायकवाड ६० बलमा ९ चौका र ५ छक्का सहित १ सय १ रनको अविजित इनिङ खेले पनि जिताउन सकेनन्। ऋतुराजको यो आईपीएलको पहिलो शतक हो।
फाफ डु प्लेसिस १९ बलमा २ चौका र १ छक्का सहित २५ रनमा क्याच आउट भए। मोईन अली २१ रनमा आउट हुँदा रविन्द्र जडेजाले १५ बलमा ३२ रन जोडेका थिए।
राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ३ विकेट लिए। जितसँगै राजस्थानले शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना कायमै राखेको छ। राजस्थानले बाँकी दुबै खेलमा जित हात पारेमा नेटरनरेटको आधारमा अन्तिम चारमा रहँदै प्लेअफ खेल्न सक्ने समिकरण छ। राजस्थानले मंगलबार मुम्बई र बिहीबार कोलकातासँग खेल्नेछ। चेन्नई शीर्षस्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।