काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वतीव्र गतिका बलर महबबु आलमलाई एभरेष्ट प्रिमियर लिग (ईपीएल)ले सम्मान गरेको छ।
शनिबार एक कार्यक्रमकाबीच नेपाली क्रिकेटलाई दिएको योगदानको कदर गर्दै महबुबलाई ५१ हजार नगद रुपैयाँसहित सम्मान गरिएको हो।
नेपाल क्रिकेट संघ (क्यान) का कोषध्यक्ष रोशनकुमार सिंहले महबुबलाई ५१ हजार नगद सहित सम्मान गरेका थिए।
महबुबले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरि सकेका छन्।
झण्डै दुई दशक नेपाली टोलीबाट खेलेका महबुबलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गर्नुपर्ने माग प्रदेश २ ले दुई महिना अघि जनाएको थियो। महबुबले नेपालबाट सन् २००० मा जापानविरुद्ध डेब्यू गरेका थिए।
२००८ मा मोजाम्बिकविरुद्ध मेहबुबले ७.५ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १० विकेट लिँदै गिनिज बुकमा नेपाल लेखाएका थिए। उनी सिमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वको एक्लो खेलाडी हुन्।
महबुब घरेलु क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो र एकै खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान समेत हुन्। महबुबले २००५ मा वीरेन्द्र स्मृति क्षेत्रिय छनोटमा सप्तरीबाट उदयपूरविरुद्ध १ सय २३ बलमा २६ चौका र १८ छक्कासहित २ सय ५६ रनको इनिङ्स खेलेका थिए।
प्रथम श्रेणीको खेलमा महबुबले २००४ मा मलेसियाविरुद्ध डेब्यू गरेका थिए। लिष्ट ए मा २०१५ मा पपुवा न्युगिनीविरुद्ध डेब्यू गरेका थिए। मेहबुबले नेपालबाट अन्तिम पटक २०१७ मार्चमा बंगलादेशमा सम्पन्न एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।