काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेले आफ्नो पार्टीका युवाहरुलाई आक्रमण गर्ने योजना बनाएको बताएका छन्। उनले सतर्क रहनसमेत सुझाएका छन्।
सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा शनिबार सम्बोधन गर्दै प्रचण्डले भने, 'मैले अर्को कुरा सुनेको छु। तपाईंहरु सम्पर्क समितिवाला साथीहरु धेरै सतर्क हुनुपर्छ भन्ने लाग्छ। तपाईंहरु यहीँ हुनुपर्छ, तपाईंहरु केही लडाकू साथी, अलि शरीर सुगठित बनाएकाहरुलाई आक्रमण गर्ने तयारी गर्दै छन् है ध्यान दिनुहोला!'
उनले लडाकू खालका युवा, अलिकति एक्सरसाइज गर्ने, हिजो सेनामा भएकाहरु बढी सतर्क हुनुपर्ने बताए। केही समय टिमसहित हिँड्नलाई उनले सुझाव दिएका छन्।
एमाले १० टुक्रा हुन खोजिरहेकाले माओवादीलाई आक्रमण गरेर आफूभित्रको एकता कायम राख्ने रणनीतिस्वरुप आफ्ना युवाहरुलाई आक्रमण गर्न खोजिएको उनको बुझाइ छ। 'आफूभित्र एकता बनाउनका लागि माओवादीका लडाकू साथीहरुलाई भौतिक आक्रमण गरेर लडाइँ सुरु गरिदिने र त्यसपछि 'ल है माओवादीले हामीमाथि आक्रमण गरे, त्यसकारण हामी एक हुनुपर्छ' भन्ने रणनीति बनाउँदै छन्। बुझ्नुहोला, यो कुरा गहिरो छ,' उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।