काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का विद्यार्थी संगठन नै सरकार विरुद्ध सडक आन्दोलन सुरु गरेका छन्।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन दबाव दिँदै ने क पामा आबद्ध अनेरास्ववियू र अखिल क्रान्तिकारीले मंगलबारबाट विरोध प्रदर्शन सुरु गरेका हुन्। संयुक्त विद्यार्थी संगठनको आह्वानमा शान्ति वाटिकामा आयोजित कोणसभामा बोल्दै अनेरास्ववियूकी अध्यक्ष नविना लामाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सडक आन्दोलन सुरु गर्नुपरेको बताइन्।
उनले जनजीविका र मुलुकको शैक्षिक मुद्दालाई आफूहरुले सधैं उठाइरहने प्रतिबद्धता पनि व्यक्त गरिन्।
अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सरकारले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको बेला भने समायोजन गर्ने नगरेको भन्दै आक्रोश व्यक्त गरे।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा प्रतिपक्षी दल नेपाली कांग्रेसमा आबद्ध नेपाल विद्यार्थी संघले देशभर विरोध प्रदर्शन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।