कपिलवस्तु/चितवन- अत्यधिक गर्मीका कारण कपिलवस्तुका सामुदायिक तथा निजी विद्यालय आजबाट एक साताका लागि बन्द भएका छन्।
बढ्दो गर्मीले विद्यार्थी कक्षाकोठामै बेहोस हुन थालेपछि स्थानीय तहका विद्यालय शिक्षा शाखाले एक साताका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको हो।
४० डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि जनजीवन पनि प्रभावित भएको छ। गर्मीका कारण सदरमुकाम तौलिहवा र सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून देखिएको छ।
उता, चितवनका केही निजी विद्यालयको संस्था भरतपुर इङ्लिस स्कुल सोसाइटी (बेस) ले गर्मी बढेको भन्दै आजबाट चार दिनका लागि विद्यालय बन्द गरेको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) अन्तर्गत रहेको भनिए पनि कुनै पनि निकायमा दर्ता नरहेको सो संस्थाको आह्वानमा विद्यालय बन्द गरिएको हो। चार दिनसम्म भरतपुर महानगरभित्रका ४३ निजी विद्यालयका पठनपाठन ठप्प हुने भएको छ।
तापक्रम ३६ डिग्री रहेको दिन सोसाइटीले विद्यालय बन्द आह्वान गरेको हो। अभिभावक र कतिपय निजी विद्यालयका प्राचार्यले मनोमानी विद्यालय बन्द गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। तर, सोसाइटीका अध्यक्ष लक्ष्मी चालिसेले भने गर्मी बढेर विद्यालय बन्द गर्न दबाव परेकाले बिदा गरिएको बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।