तस्बिर सौजन्य: अपि पावर कम्पनी। काठमाडौं- विद्युत नियमन आयोगले अपर चमेलिया आयोजनाको हकप्रद सेयर निष्काशन गर्न पूर्वस्वीकृति दिएको छ। आयोगले असोज १३ गते अपि पावर कम्पनी लिमिटेडलाई पत्राचार गर्दै हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति दिने निर्णय भएको जानकारी दिएको हो।
कम्पनीबाट पूर्वस्वीकृतिका लागि प्राप्त निवेदनको अध्ययनपछि स्वीकृति प्रदान गरिएको आयोगले जनाएको छ।
आयोगले १०० रुपैयाँ दरका एक करोड आठ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशनका लागि पूर्वस्वीकृति प्रदान गरेको हो। आयोगले विद्युत् नियमन आयोग नियमावली, २०७५ को नियम ४५ बमोजिम आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि नेपाल धितोपत्र बोर्डसँग समवन्य गरी आवश्यकताअनुसारको सेयर निस्काशन गर्न निर्देशन दिएको छ।
सेयर निष्काशनबाट प्राप्त हुने एक अर्ब आठ करोड ६० लाख रुपैयाँ रकम आयोजनाको निर्माणमा लगानी गर्नुपर्ने आयोगले पत्रका उल्लेख गरेको छ। उक्त लगानीलाई समावेश गरी ऋण र स्वलगानीको अनुपात कायम गरी आयोजनाको निर्माण गर्नुपर्ने आयोगले बताएको छ।
कूल ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको गत वर्ष कात्तिक महिनामा शिलान्यास गरिएको थियो। दार्चुलाको मार्मा गाउँपालिका-२ मा निर्माण हुने उक्त आयोजनाको निजी क्षेत्रबाट निर्माण हुन लागेको सुदूरपश्चिमकै ठूलो आयोजना हो। आयोजनाको कूल लागत सात अर्ब ४० करोड रुपैयाँ रहेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।