काठमाडौं- चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा लगातार तेस्रो जित निकाल्दै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।
शुक्रबार चितवनले ओपनर मोहम्मद शाहजाद र युवा ब्याटर भीम सार्कीको अविजित शतकीय साझेदारीमा पोखरा राइनोजलाई ९ विकेटले हराएको हो।
योसँगै चितवन दुई खेल अगावै शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको छ।
जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १६.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो।
चितवनका ओपनर शाहजाद ६३ रनमा अविजित रहे। उनले ५२ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यता, सार्की ५२ रनमा अविजित रहे। उनले ४२ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
दोस्रो विकेटका लागि सार्की र शाहजादले १ सय २२ रनकोे अविजित शतकीय साझेदारी गर्दै जित पक्का गराए।
पोखराका विक्रम सोबले एक विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो।
पोखराका विवेक यादव सर्वाधिक ५३ रनमा अविजित रहे। उनले ४५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
असेला गुणरत्ने २६ बलमा १ चौकासहित २५ रनमा रन आउट भए।
रिचर्ड लेभी २०, लोकेश वम ८, कप्तान विनोद भण्डारी ५, रित गौतम २ रनमा आउट भए भने सुनिल धमला शुन्य रनमै पभेलियन फर्किए।
चितवनका साहब आलमले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। कमलसिंह ऐरीले २ र सोमपाल कामीले १ विकेट लिए।
पहिलो खेलमा चितवनले विराटनगरलाई २ विकेटले पराजित गरेको थियो। दोस्रोमा चितवनले ३ विकेटले पराजित गरेको थियो। चितवनले आफ्नो चौथो खेलमा आइतबार ललितपुरसँग खेल्नेछ।
पोखराले पहिलो खेल भैहरवासँग वर्षाको कारण अंक बाँडेको थियो। दोस्रो खेलमा ललितपुरलाई ९ विकेटले पराजित गरेको थियो। पोखराले शनिबार विराटनगरसँग खेल्नेछ।
चितवन ३ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ शीर्षस्थानमा छ। भैरहवा ३ खेलमा १ मा जित र दुई खेलमा अंक बाड्ँदै ४ अंकका साथ दोस्रो स्थानमा छ। पोखरा ३ खेलमा एकमा जित र एकमा हारसहित ३ अंकका साथ तेस्रो स्थानमा छ।
ललितपुर ४ खेलमा १ मा जित, २ मा हारसहित ३ अंक जोड्दै बाँड्दै चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।