काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ।
जितसँगै चेन्नई आईपीएल) २०२१ को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ। चेन्नईले खेलेका १२ संस्करणको आईपीएलमध्ये ११औं पटक प्लेअफमा पुगेको हो। जारी सिजनमा तीन खेल अगावै चेन्नईले प्लेअफमा स्थान बनाएको छ। हारसँगै सनराइजर्सको भने शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना सकिएको छ।
जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले ३८ बलमा सर्वाधिक ४५ रनको योगदान दिए। फाफ डु प्लेसिसले ३६ बलमा ४१ रन बनाउ भने कप्तान महेन्द्रसिंह धोनी ११ बलमा १४ रन बनाउँदै अविजित रहे।
हैदराबादका जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए भने राशिद खानले १ विकेट लिए।
त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो। हैदराबादका विकेटकिपर तथा ओपनर ऋद्धिमान शाहले ४६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए।
हैदराबादका ओपनर जेसन रोय २, केन विलियम्सन ११, प्रियम गर्ग ७, अभिषेक शर्मा र अब्दुल सामद १८–१८ रनमा आउट भए। राशिद खान १३ बलमा २ चौका सहित १७ रनमा अविजित रहे।
चेन्नईका तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। मध्यगतिका बलर ड्वेन ब्राभोले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । शार्दूल ठाकुर र रविन्द्र जडेजाको नाममा १–१ विकेट रह्यो।
जितसँगै चेन्नई सुपर किंग्स ११ खेलमा ९ जित र २ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा रहेको छ।
सनराइजर्स हैदराबाद ११ खेलमा ९ मा हार र २ मा जित सहित ४ अंकका साथ पुछारमा छ। लिगको अन्तिममा रहेको हैदराबादको अघिल्लो चरणको सम्भावना सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।