काठमाडौं- कप्तान शरद भेषावकरले अन्तिम बलमा छक्का प्रहार गरेपछि एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणमा भैरहवा ग्ल्याडियटर्स र साविक विजेता ललितपुरबीचको खेल बराबरीमा सकिएको छ।
दुवै टोलीको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा जान नसकेको हो। योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन्।
जितको लागि १ सय ७८ रनको बलियो विजयी लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनाएपछि खेल ‘ड्र’ भएको हो।
भैरहवालाई जितको लागि अन्तिम ६ बलमा १८ रन चाहिएको थियो। ललितपुरका युवा तीव्र गतिका बलर राशिद खानले १७ रन खर्चेपछि खेल बराबरीमा सकिएको हो।
अन्तिम बलमा ७ रन आवश्यक पर्दा कप्तान शरदले पहिलो बलमा नै छक्का प्रहार गरे। भैरहवाका लागि श्रीलंका पूर्वकप्तान उपुल थरंगा सर्वाधिक ६७ रनमा अविजित रहे। उनले ४४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
यता, कप्तान शरद ६ रनमा अविजित रहे।
कुशल मल्ल ३५ रनमा क्याच आउट भए। कुशलले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। आरिफ शेखले २८ रनमा आउट भए। तमिम इकबालले १४ रन बनाए। प्रदिप ऐरी र रोहित पौडेल समान २/२ रनमा आउट भए।
ललितपुरका राशिद खानले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए। रिजन ढकालले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो। ललितपुरका सान्दुन विराक्कोडीले सर्वाधिक ५८ रनको योगदान दिए। उनले ४१ बलमा २ चौका र ५ छक्का प्रहार गरे।
ललितपुरका आजमतुल्लाह ओमरजाई २२ बलमा २ चौका र ४ छक्का सहित ४२ रनमा क्याच आउट भए। यता, सन्दीप जोरा २५ बलमा २ चौका र २ छक्कासहित ३८ रनमा रन आउट भए।
ओशाडा फर्नान्डोले २० रन बनाए। त्यस्तै योगेन्द्र सिंह कार्कीले ७ रन जोड्दा कप्तान कुशल भुर्तेल २ रनमा आउट भए। पवन सर्राफले १ रनमा आउट हुँदा नारायण जोशी शून्य रनमा अविजित रहे।
भैरहवाका अभिनाष बोहराले २ विकेट लिए। कृष्ण कार्की, धाम्मिका प्रसाद, अभिनाष बोहरा र आरिफ शेखले १–१ विकेट लिए।
पहिलो खेलमा भैरहवाले पोखरासँग वर्षाको कारण अंक बाँडेको थियो। दोस्रो खेलमा भैरहवाले विराटनगरलाई ६ विकेटले पराजित गरेको थियो।
यता, ललितपुर पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा पोखरासँग ९ विकेटले पराजित भएको थियो।
शुक्रबार ललितपुरले विराटनगरसँग र भैरहवाले शनिबार काठमाडौं किंग्स ११ सँग खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।