काठमाडौं- भैरहवा ग्ल्याडियटर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल)को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
बुधबार भएको दोस्रो खेलमा विराटनगर वारीयर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
विराटनगरले दिएको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। भैरहवाको जितमा उपुल थरांगाले सर्वाधिक ३४ रनको योगदान दिए। उनले ३५ बलमा ४ चौका प्रहार गरे। कप्तान शरद भेषावकर ६ रनमा नटआउट रहे।
भैरहवाका लागि ओपनर प्रदीप ऐरीले २२ रनको योगदान दिए। ओपनर तमिम इकबालले र रोहित पौडेलले समान १२ रन जोडे।
आरिफ शेख खाता नखोली आउट भए। विराटनगरका लागि रामनरेशले २ विकेट लिँदा वसन्त र करणले १-१ विकेट हात पारे।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १७.४ ओभरमा ८९ रनमा अल आउट भयो।
विराटनगरका ब्याटर दीलशान मुनाविराले सर्वाधिक २५ रन बनाए।
सुमित महर्जनले १३ रन जोड्दा आसिफ शेख र अनिल साहले समान ११/११ रन बनाए । बसन्त रेग्मीले अविजित १० रन बनाए।
सिकन्दर राजाले ५, सौरभ खनालले ३ र रामनरेश गिरिले १ रन जोडे।
कप्तान करण केसी, चन्द्रपउल हेमराज र प्रतिष जिसी शून्य रनमा पेवेलियन फर्किए।
भैरहवामा मध्यगतिका बलर आरिफ शेखले ३ विकेट लिए। धाम्मिका प्रसादले ३ विकेट लिए। अभिनाष बोहराले २ विकेट लिए। दुर्गेश गुप्ता र कृष्ण कार्कीको नाममा १–१ विकेट रह्यो।
यस जितसँगै भैरहवाले २ खेलमा ३ अंक जोडेको छ। पोखराविरुद्ध पहिलो खेल वर्षाले रद्द भएपछि १-१ अंक बाँडेका थिए। लगातार दोस्रो हार बेहोरेको विराटनगर भने अंकविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।