काठमाडौं- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पोखरा राइनोजले ललितपुर प्याट्रियटर्सलाई ९ विकेटले पराजित गरेको छ। जितको लागि ५२ रनको सामान्य लक्ष्य पछ्याएको पोखराले ९.३ ओभरमा १ गुमाउँदै लक्ष्य पूरा गर्यो।
ओसिलो आउटफिल्डको कारण खेल निर्धारित समयभन्दा दुई घण्ढा ढिलो सुरू भएको थियो। त्यसपछि खेल ७–७ ओभरमा झारिएको थियो।
पोखराका रिचार्ड लेभी ३८ रनमा अविजित रहे। उनले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
यता, डेब्यू खेल खेलेका युवा ब्याट्सम्यान रित गौतम १४ बलमा एक चौकासहित १२ रनमा बोल्ड आउट भए। पहिलो विकेटका लागि लेभी र रितले ५.२ ओभरमा ३९ रनको साझेदारी गरे।
ललितपुरका अजमतुल्लाह ओमरजाईले १ विकेट लिए।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो।
ललितपुरका विकेटकिपर सान्दुन वीराक्कोडीले १६ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक १९ रन बनाएका थिए।
यस्तै, नारायण जोशी ११ रनमा बोल्ड आउट भए ओसाडा फर्नान्डो १० रनमा नटआउट रहे। पवन सर्राफले ५ र कप्तान तथा ओपनर कुशल भुर्तेल ३ रनमै पवेलियन फर्के।
अजमतुल्लाह ओमरजाइले १ रन थपे। सुन्दीप जोरा गोल्डेन डक भए भने पोखराका नन्दन यादवले २ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। विक्रमले २ विकेट लिए। केज्रिक विलियम्सले १ विकेट लिए ।
पहिलो खेलमा पोखराले भैरहवा ग्ल्याडियटर्ससँग वर्षाका कारण १-१ अंक बाँडेको थियो।
अब पोखराले तेस्रो खेल शुक्रबार चितवन टाइगर्ससँग खेल्ने छ। ललितपुरको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा ललितपुर काठमाडौं किंग्स ११ सँग ७ विकेटले पराजित भएको थियो।
तेस्रो खेल ललितपुरले बिहीबार विराटनगर वारियर्ससँग खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।