बनियानी– झापाको बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको छ।
जिल्ला समन्वय समिति, झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबार एक कार्यक्रमकाबीच बाह्रदशी गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरेका हुन्।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खुल्ला दिसामुक्तको प्रतिक हरियो झण्डा फहराउनुका साथै गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीलाई हस्तान्तरण गरेका थिए।
अध्यक्ष पोर्तेलले राजमार्ग दक्षिणमा पर्ने, विपन्न र पछाडि पारिएका समुदायको घना बसोबास रहेको बाह्रदशीले सुगम नगरपालिकालाई चुनौती दिएको बताए।
‘नेपालको पूर्वी प्रवेशद्वार मेचीनगर, तीव्र शहरीकरण भइरहेको र व्यापारिक केन्द्रको रुपमा रहेको विर्तामोड, नेपालकै पुरानो नगरपालिकासमेत रहेको सदरमुकाम भद्रपुर, मुलुककै अर्थमन्त्री एवम् प्रदेश गृहमन्त्रीको गृहनगर गौरादह र प्रधानमन्त्रीको गृहनगर दमकलाई पनि बाह्रदशीले छिटो खुल्ला दिसामुक्त घोषणा गरेर देखाउन चुनौती दिएको छ।’, उनले भने।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीकुमार नेपालले राज्यले पारित गरेका नीतिनियम, तयार गरेका प्रावधान र गरेका घोषणा एवम् प्रतिबद्धतालाई पूरा गर्न सहयोग गर्नु सम्पूर्ण स्थानीय तह र नागरिकको दायित्व भएको धारणा राखे।
७ हजार ९ सय ७२ घरधुरी रहेको बाह्रदशी गाउँपालिकामा अभियानअघि ४ हजार ९ सय ३३ घरधुरीमा सुरक्षित चर्पी रहेकोमा खुल्ला दिसामुक्त अभियानको क्रममा ३ हजार ३९ घरधुरीमा सुरक्षित शौचालयको निर्माण गरेपश्चात् खुल्ला दिसामुक्त घोषणा गरिएको हो। बाह्रदशी खुल्ला दिसामुक्त हुने झापाको छैटौँ स्थानीय तह हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।