काठमाडौं– एभरेस्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणअन्तर्गत आज (सोमबार) हुने भनिएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स तथा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल स्थगित भएको छ। टियू मैदानको ओसिलो आउटफिल्ड र त्यसपछिको वर्षाका कारण दुवै खेल स्थगित गरिएको हो।
काठमाडौं र विराटनगरको खेल बिहान ९:३० मा सुरु हुने तय थियो। तर, टियू मैदानमा बिहानैदेखि घाम लागेपछि खेल ढिला गरि सञ्चालन गरिने बताइएको थियो।
अन्तिम निरीक्षण स्वरूप ११:४० मा परीक्षण गर्दा पनि मैदान नसुकेका कारण अम्पायरले खेल स्थगित गरेका हुन्।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जितको खोजिमा थियो। काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो। सोमबारको खेल काठमाडौंका शाहिद अफ्रिदीको अन्तिम खेल रहेको थियो। उनी दुई खेलका लागि काठमाडौं उत्रिएका थिए।
करण केसीको कप्तानीमा रहेको विराटनगर भने पहिलो जितको खोजीमा रहेको थियो। पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो।
यता, भैरहवा र चितवनबीचको खेल पनि स्थगित भएको छ। दिउँसो १:३० सुरु हुनुपर्ने खेल पुन: वर्षा भएपछि स्थगित गरिएको हो।
आयोजकका अनुसार भैरहवा र चितवनबीचको खेलका लागि १ बजे टस हुनुपर्ने थियो। त्यसपछि खेल १:३० सुरु हुने तय थियो।
तर, मैदान निरीक्षणमा उत्रिएका अम्पायरले भैरहवाका कप्तान शरद भेषावकर र चितवनका सोमपाल कामीसँग छलफलपछि टस स्थगित गरेका हुन्।
दोस्रो पटक १:४० मा अम्पायरले मैदान निरीक्षण गरेर फर्किएका थिए। दोस्रो निरीक्षण २:३० मा हुने भनिएको थियो।
चितवनले पहिलो खेलमा विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो। भैरहवाको पहिलो खेल वर्षाको कारण पोखरा राइनोजसँग अंक बाँडेको थियो ।
अब चारै टोलीले अंक बाँड्ने वा खेल पुन: अर्को दिन खेलाइने भन्नेबारे आयोजक छलफलमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।