कीर्तिपुर- एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण अन्तर्गत आज सोमबार हुने भनिएको भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल निर्धारित समयभन्दा ढिला सुरु हुने भएको छ।
आइतबारको भारी वर्षाका कारण आउटफिल्ड ओसिलो भएकाले खेल ढिला सुरु हुने भएको हो। आयोजकका अनुसार भैरहवा र चितवनबीचको खेलका लागि १ बजे टस हुनुपर्ने थियो। त्यसपछि खेल १:३० सुरु हुने तय थियो।
तर, मैदानमा निरीक्षणमा उत्रिएका अम्पायरले भैरहवाका कप्तान शरद भेषावकर र चितवनका सोमपाल कामीसँग छलफलपछि टस स्थगित गरेका हुन्।
अब अम्पायरले केहीबेरमा पुन: मैदान निरीक्षण गर्नेछन्। सोमबार विराटनगर र काठमाडौं किंग्स ११ बीचको खेल पनि वर्षाको कारण स्थगित भइसकेको छ।
सोमबार बिहानैदेखि टियु मैदानमा घाम लागेको छ। तर, आउटफिल्ड पूर्णरुपमा सुक्न सकेको छैन। जसको कारण विराटनगर वारियर्स र काठमाडौंबीचको खेल स्थगित हुँदा भैरहवा र चितवनबीचको खेल ढिलो सुरु हुने भएको छ।
चितवनले पहिलो खेलमा विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो। भैरहवाले पहिलो खेलमा वर्षाको कारण पोखरा राइनोजसँग अंक बाँडेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।