काठमाडौं- एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण अन्तर्गत आज सोमबार हुने भनिएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचको खेल स्थगित गरिएको छ।
आइतबारको भारी वर्षाका कारण आउटफिल्ड ओसिलो भएपछि खेल स्थगित गरिएको हो।
काठमाडौं र विराटनगरको खेल बिहान ९:३० मा सुरु हुने तय थियो। तर, टियु मैदानमा बिहानैदेखि घाम लागेपछि खेल ढिला गरि सञ्चालन गरिने बताइएको थियो।
अन्तिम निरीक्षण स्वरूप ११:४० मा परीक्षण गर्दा पनि मैदान नसुकेका कारण अम्पायरले खेल स्थगित गरेका हुन्।
सामान्यतया खेल सम्भव नहुँदा अंक बाँड्ने भएपनि आयोजकले अर्को दिन खेल गर्ने सम्भावना अध्ययन गरिरहेको छ। यसबारे आयोजकले केहीबेरमा जानकारी दिनेछ।
आज हुने दोस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्स र चितवन टाइगर्स खेल्नेछन्। उक्त खेलका लागि भने मैदान तयार हुने सम्भावना छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जितको खोजिमा थियो। काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो। यस खेल काठमाडौंका शाहिद अफ्रिदीको अन्तिम खेल रहेको थियो। उनी दुई खेलका लागि काठमाडौं उत्रिएका थिए।
करण केसीको कप्तानीमा रहेको विराटनगर भने पहिलो जितको खोजीमा रहेको थियोे। पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।