काठमाडौं- चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा अंक तालिका शीर्षस्थानमा उक्लिएको छ। कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गर्दै चेन्नई शीर्षस्थानमा उक्लिएको हो।
जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो।
चेन्नईलाई अन्तिम १२ बलमा २६ रन चाहिएको थियो। १९औं ओभरमा रविन्द्र जडेजाले तीव्र गतिका बलर प्रसिद्ध कृष्णलाई २ चौका र २ छक्कासहित कुल २२ रन जोडे।
तर, अन्तिम ओभरमा जितको लागि ४ रन आवश्यक परेको थियो। स्पिनर सुनिल नारायणले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि खेल अन्तिम बलमा पुगेको थियो। अन्तिम बलमा एक रन चाहिएको अवस्थामा दीपक चाहरले उक्त रन बटुल्दै जित पक्का गरे।
रविन्द्र जडेजाले २ चौका र २ छक्कासहित २२ रनमा आउट भए। चेन्नईका ओपनर फाफ डु प्लेसिसले ४३ रनको योगदान दिए। ऋतुराज गायकवाड ४० रन बनाउँदै आउट भए।
मोईन अली ३२ रन, सुरेश रैना ११, अम्बाती रायुडू ९ र महेन्द्रसिंह धोनी १ रनमा आउट भए।
कोलकाता स्पिनर सुनिल नारायणले ४ ओभरमा ४१ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। प्रसिद्ध कृष्ण, लोकी फर्गुसन, बरुणचक्रवर्ती र आन्द्रे रसेलले एक/एक विकेट लिए।
त्यसअघि आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो। कोलकाता राहुल त्रिपाठीले ३३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४५ रनको योगदान दिए।
नितिश राणा ३७ रनमा अविजित रहे। आन्द्रे रसेल २० र वेंकटेश ऐर १८ रनमा आउट भए। ओपनर सुभमन गिल ९ रनमा रन आउट भए।
कप्तान ओईन मोर्गन ८ रनमा क्याच आउट भए। चेन्नईका शार्दूल ठाकुरले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिए। जोश हेजलवुडले २ र रविन्द्र जडेजाले एक विकेट लिए।
जितसँगै चेन्नई सुपर किंग्स १० खेलमा ८ जित र २ मा हारसहित १६ अंक जोड्दै शीर्षस्थानमा छ। कोलकाता १० खेलमा ४ जित र ६ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।