काठमाडौं- चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) आजबाट सुरु भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा शनिबार काठमाडौं किंग्स ११ ले विजयी सुरुआत गरेको छ।
काठमाडौंले ललितपुर प्याट्रिओट्सलाई ७ विकेटको पराजित गरेको हो। ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले मात्र १४.२ ओभरमा ३ विकेट गुमाउँदा पूरा गरेको थियो।
नेपालमा कोरोना महामारी सुरु भएपछि भएको यो नै पहिलो प्रतियोगिता हो। महामारी अझै जारी रहे पनि त्रिवि क्रिकेट मैदानमा दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो।
आयोजकले दर्शक तान्नका लागि आकर्षक योजनासमेत सार्वजनिक गरेको छ। खेलाडीले प्रहार गरेको छक्का दर्शकले एक हातले क्याच गरे ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको छ। मैदानमा खेलदौरान प्रहार गरिएको छक्का दर्शकले एक हातले समाउनुपर्ने नियम रहेको छ। तर, उद्घाटन खेलमा कसैले पनि बल समाउन सकेनन्।
यसपटक दर्शक प्रवेशमा कुनै रोकतोक गरिएको छैन। यसअघि नेपाल र भारतबीच दशरथ रंगशालामा भएको पुरुष राष्ट्रिय टोलीको मैत्रीपूर्ण फुटबल तथा नेपाल र बंगलादेशबीच भएको महिला राष्ट्रिय टोलीको फुटबलमा एक तिहाइ दर्शकलाई मात्र प्रवेश दिइएको थियो।
प्रतियोगिताको आकर्षणका रुपमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रहेका थिए। शनिबार काठमाडौं किंग्स ११ बाट ललितपुर प्याट्रिओट्सविरुद्ध खेले पनि उनले विकेट लिन सकेनन्। चार ओभर बलिङ गरेका उनले ३२ रन खर्चेका थिए।
अफ्रिदी काठमाडौंमा दुई खेलका लागि अनुबन्ध भएका हुन्। उनी नेपाल छोटो समय बस्ने भएका कारण उनको खेल हेर्न खेलप्रेमी मैदानसम्म पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।