काठमाडौं- दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा राजस्थान रोयल्सलाई पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
शनिबार साँझ सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ३३ रनले पराजित गरेको हो। जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २१ रन बनायो।
राजस्थानका कप्तान सञ्जु स्यामसन ७० रनमा अविजित रहेपनि हार टार्न सकेनन्। उनले ५३ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए।
यता, महिपाल लोमरले १९ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो रन बनाउन सकेनन्। राहुल टेवाटिया ९, डेविड मिलर ७, यशस्वी जैसवाल ५, रियान पराग २ र ओपनर लियाम लिभिङस्टोन १ रनमा आउट भए।
दिल्लीका एनरिच नोर्कियाले २ विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चे। आवेश खान, रविचन्द्रन आश्विन, कागिसो रबाडा र अक्षर पटेलले एक/एक विकेट लिए।
त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो।
दिल्लीका श्रेयस ऐरले सर्वाधिक ४३ रनको योगदान दिए उनले ३२ बलमा १ चौका र २ छक्का प्रहार गरे।
शिम्रन हेटमायरले २८, ऋषभ पन्तले २४, ललित यादव १४ र अक्षर पटेलले १२ रनको योगदान दिए।
यता, ओपनर पृथ्वी शाह १० र शिखर धवनले ८ रनको योगदान दिए।
राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए। चेतन सकारियाले २, कातिक त्यागी र राहुल टेवाटियाले एक/एक विकेट लिए।
जितसँगै दिल्ली १० खेलमा ८ मा जित र २ मा हारसहित १६ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ। चेन्नई सुपर किंग्स ९ खेलमा ७ जित र २ मा हारसहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ।
राजस्थान ९ खेलमा ५ मा हार र ४ मा जितसहित ८ अंकका साथ छैटौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।