पोखरा– नयाँबजार बस्ने लीला पौडेलको घरमा पानी नआएको हप्तौं भइसक्यो। अब कहिलेदेखि पानी आउने हो, कुनै खबर पाएकी छैनन्। घरमा भएको भुइँ ट्यांकीमा जम्मा गरेको पानीले गर्जो टार्दै आएकी उनी भन्छिन्, ‘त्यो पानी पनिसकिन लाग्यो। अब ट्याङ्करबाट किन्ने त होला नि!’
न्यूरोडमा होटल व्यवसाय गर्दै आएकी रघुमाया खवासको होटलमा पनि थुप्रै दिनदेखि पानी आएको छैन। होटलका ग्राहकलाई खुवाउन र भाँडाकुँडा धुन जारको पानी किन्नुपर्ने अवस्था छ।
‘वर्षा हुँदा बलेसीबाट भाँडामा पानी थाप्छौं, त्यसैबाट भाँडा माझ्नेदेखि खाना पकाउने काम गरिरहेका छौं’, उनले भनिन्।
पोखरा महानगरमा केही दिनदेखि भइरहेको पानी अभाव खेपिरहेका पौडेल र खवास प्रतिनिधि पात्र मात्र हुन्। उनीहरु जस्ता धेरैले पानीको अभाव भोगिरहेका छन्।
खानेपानी संस्थान पोखराका इञ्जिनियर दिनेश्वर यादवले भोटेखोलामा भएको क्रसिङ पाइपलाइनका कारण पानी नआएको र मर्मत कार्य सकिएर पानी आउन अझै ४/५ दिन लाग्ने जानकारी दिए।
‘अहिले त्यो पाइपलाई सपोर्ट गर्ने पिलर निर्माणको काम भइरहेको छ’, उनले भने।
दुई वटा पिलर बनाइसकेको र अब एउटा पिलर बनाउन मात्र बाँकी रहेको उनले बताए। पाइपलाइन बनाउन स्काभेटरसहितको जनशक्ति पठाएर काम छिटो सक्न प्रयास भइरहेको उनले जानकारी दिए।
महानगरमा पानीको अभाव
पोखरा महानगरमा अझै पनि पानीको माग पूरा हुन सकिरहेको छैन। माग भए अनसारको पानी महानगरमा पुर्याउन नसकिएको खानेपानी संस्थान नै स्विकार्छ।
महानगरमा अहिले दैनि ६ देखि ७ करोड लिटर पानीको माग भए पनि खानेपानी संस्थान पोखराले अहिले ४ करोड लिटर मात्र उपलब्ध गराउँदै आएको छ। संस्थानका अनुसार, ४ करोड लिटरमध्ये अहिले बिग्रिएको भोटेखोलाको पाइपलाइनबाट १ करोड ७० लाख पानी वितरण हुन्थ्यो।
संस्थानका इञ्जिनियर यादवले भने, ‘महानगरका सबै जनताले पानीको माग गरे भने ७ करोड पानीले पनि पुग्दैन।’
इञ्जिनियर यादवले महानगरमा पानीको अभाव कम गर्न विभिन्न योजनाका लागि काम गरिरहेको जानकारी दिए। उनले जग्गा खरिद गर्ने देखि जापानी कम्पनीको सहकार्यमा सम्भाव्यता अध्ययन गर्ने काम सकिसकेको बताए।
‘जापानी कम्पनीले केन्द्रमा कुरा राखेको छ। त्यो पूरा भएपछि हामी छिटै काम सुरु गर्छौं’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।