काठमाडौं- अफगानिस्तानका विकेकिपर रहमुल्लाह गुरबाज र जिम्बावेका ब्याट्सम्यान रायन बर्लको अर्धशतकीय इनिङ्ससँगै चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किंग्स ११ ले सुखद् सुरुआत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा काठमाडौं किंग्स ११ ले ललितपुर प्याट्रिओट्सलाई ७ विकेटको पराजित गरेको हो।
ललितपुरले दिएको १५८ रनको लक्ष्य पछ्याएको काठमाडौंले मात्र १४.२ ओभरमा ३ विकेट गुमाएर १६० रन बनायो। काठमाडौंका गुरबाजले ३६ बलमा ४ चौका र ४ छक्काको सहायतामा ५९ रन बनाए। यता, आक्रामक ब्याटिङ गरेका बर्ल ३४ बलमा ७ छक्का ४ चौका प्रहार गर्दै ७३ रनमा अविजित रहे।
गुरबाजले पाँचौं ओभरमा ललितनारायण राजवंशीलाई ३ छक्का प्रहार गर्दै एकै ओभरमा १९ रन जोडेका थिए । त्यसअघि ओपनर सुवास खकुरेल शून्य र अमित श्रेष्ठ ४ रनमा आउट भएका थिए ।
यस्तै, राजु रिजाल १९ बलमा अविजित रहे। ललितपुरका लागि पवन सरार्फले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो।
ललितपुरका लागि पवन सरार्फले सर्वाधिक ६१ रन बनाए। पवनले ५ चौका र ४ छक्का प्रहार गरे।
कप्तान कुशल भुर्तेलसहित अन्य दुई ब्याट्सम्यानले दोहोरो अंक बनाउन नसकेको स्थितिमा आएका पवनले कसिलो ब्याटिङ गर्दै ललितपुरलाई मध्यम लक्ष्यसम्म पुर्याए।
ठूलो सट खेल्ने क्रममा जितेन्द्र मुखियाको पहिलो बलमा कुशललाई काठमाडौंका विकेटकिपर उल्लाहमान गुर्बजले क्याच आउट गराएका थिए।
तर, पवन र योगेन्द्रसिंह कार्कीले कसिलो ब्याटिङ गर्दै बलियो स्थितिमा पुर्याए। १०औं ओभरमा आएका योगेन्द्रसिंहले पवनसँग ६२ रनको साझेदारी गरे।
तर, ठूलो स्कोरतर्फ उन्मुख ललितपुरलाई रोक्न १६औं ओभरमा रयान बर्लले लगातार दुई विकेट लिँदै उनीहरुको साझेदारी रोके। १६.२ ओभरमा पवनलाई ठूलो सट खेल्नेक्रममा बर्लले व्यक्तिगत ६१ रनमा शेर मल्लको हातबाट क्याच गराए। यता, रायनले २० बलमा ३ छक्का प्रहार गर्दै ३३ रन बनाए। उनलाई बर्लले बोल्ड गरेका थिए।
त्यसअघि पवन र शंकर रानाले ५४ रनको साझेदारी गरेका थिए। ९ रन हुँदा ३ विकेट गुमाएको ललितपुरलाई उकास्न आएका शंकर व्यक्तिगत १४ रनमा आउट भए।
उनी २७ बलमा १४ रन बनाउँदै १० ओभरमा ठूलो सट खेल्ने क्रममा जितेन्द्र मुखियाको बलमा विकेटकिपर रहमानउल्लाह गुर्जबबाट क्याच भए।
ललितपुरका रञ्जुङ मिक्यो दोर्जीले १७ रनमा नट आउट रहे। यता नारायण जोसीले १२ रन बनाए।
यस्तै, ओशदा फर्नान्डो ४, सन्दुन वीराक्कोडी २ र रशिद खान १ रनमा आउट भए।
काठमाडौंका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चिए।
यता, गुलशन झा र रायन बर्लले २/२ विकेट लिए। सन्दीप लामिछाने र शाहिद अफ्रिदीले भने विकेट लिन सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।