काठमाडौं– बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिम इकबाल चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिताका खेल्न आज (शुक्रबार) काठमाडौं आइपुग्ने भएका छन्।
भैरहवा ग्ल्याडियटर्सले अनुबन्ध गरेका ३२ वर्षीय इकबाल शुक्रबार साँझ ७:३५ बजे नेपाल आइपुग्ने छन्।
चौथो संस्करणको ईपीएल भोलि (शनिबार)बाट सुरु हुँदैछ। भैरहवाको कप्तानी शरद भेषवाकरले गर्ने छन्।
इकबाल अहिले बंगलादेशी ओडीआई टिमका कप्तान पनि छन्। उनले ६४ टेस्ट, २१९ ओडीआई, ७८ टी–२० आई खेलेका छन्। ३२ वर्षीय बायाँहाते ब्याट्सम्यान तमिमसँग २२९ टी–२० खेलको अनुभव पनि छ।
उनी बंगलादेशबाट टेस्ट र ओडीआईमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्। टी–२० आईमा बंगलादेशबाट सर्वाधिक रन बनाउनेमा उनी दोस्रो स्थानमा छन्। उनले टी–२० आईमा एक शतक र सात अर्धशतकसहित १ हजार ७५८ रन बनाएका छन्। बंगलादेशबाट टी–२० आईमा शतक प्रहार गर्ने उनी एक्लो क्रिकेटर हुन्। सन् २०१६ को टी–२० विश्वकपमा ओमानविरुद्ध ६३ बलमा १०३ रनको अविजित इनिङ्स खेलेका थिए।
इकबालले टेस्टमा ९ शतक र ३१ अर्धशतकसहित कुल ४ हजार ७८८ रन बनाएका छन्।
ओडीआईमा १४ शतक र ५१ अर्धशतकसहित ७ हजार ६६६ रन बनाएका छन्। उनले आगामी टी–२० विश्वकपबाट आफ्नो नाम फिर्ता लिएका छन्। बंगलादेशले उनीविना नै विश्वकपमा भाग लिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।