काठमाडौं- शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको एभरेष्ट प्रिमियर लिगको यो संस्करणमा आफूहरुले बलियो दाबेदारी प्रस्तुत गर्ने पोखरा राइनोजले जनाएको छ।
राइनोजद्वारा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टिम म्यानेजर दिपा सिंह अग्रवालले यसपटक राइनोजको टिम बलियो भएको दाबी गरिन्। ‘यसपटक टिम मजबुत पार्न हामीले अक्सन देखिनै ध्यान पुर्याएका छौं, टिममा अलराउण्डर खेलाडीको बर्चश्व छ उनले भनिन्।
'यसपटक हाम्रो लक्ष्य जित हो, तर खेलको नतिजा जता पनि जान सक्छ, यद्यपी राइनोजका सबै खेल रोमाञ्चक हुने आशा लिएकी छु' टिम वनरसमेत रहेकी अग्रवालले बताइन्। उनले राइनोजले सुन्दर शहर पोखरालाई छातीमा टाँसेर मैदान उत्रन लागेको बताउँदै पोखरेलीहरुको साथ र माया पाउने अपेक्षा रहेको बताइन्।
जम्प नेशनको स्वामित्वमा रहेको राईनोजले प्रतियोगितालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न रणनीति तय गरेको छ। जस अन्तरगत उसले विगतको प्रस्तुतीलाई अध्ययन गर्दै यस प्रतियोगिताकालागि मुख्य प्रशिक्षक, बलिङ्ग प्रशिक्षक र फिल्डिङ्ग प्रशिक्षकलाई चयन गरेर सुखद् नतिजा निकाल्ने अभियानमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।
पत्रकार सम्मेलनमा टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल, टिम क्याप्टेन बिनोद भण्डारी, बलिङ्ग कोच शक्ति गौचन, फिल्डिङ्ग कोच रिजन प्रजु लगायतले यसपटक राइनोजको टिम चौतर्फी रुपमा सन्तुलित भएको बताए।
राईनोजले राष्ट्रिय टोली का विनोद भण्डारीको नेतृत्वमा विदेशी खेलाडीलाई पनि समावेश गरेको छ। जसमा दक्षिण अफ्रिकाका रिचार्ड अन्स्टलेभी जसले विश्वकपमा प्रदर्शन गरिसकेका छन्।
यस्तै वेष्टईन्डिजका केसरिक विलियम, श्रीलङ्काका असेला गुणरत्ने र साहान अरचसिगेलाई टिममा समावेस गरेको छ। पत्रकार सम्मेलनमा विदेशी खेलाडीहरुले राईनोजमा आवद्ध भएर नेपालमा प्रतियोगिता खेल्न पाउँदा निकै खुसी लागेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।