काठमाडौं– पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी चौथौं संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता खेल्न बिहीबार काठमाडौं आइपुगेका छन्।
शनिबारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजन हुने ईपीएल खेल्न पाकिस्तानका अलराउन्डर बिहीबार नेपाल आइपुगेका हुन्। बिहीबार दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदीलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे।
साथै, उनी सम्मिलित टोली काठमाडौं किंग्स इलेभेनका पदाधिकारीले पनि स्वागत गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी साहिद अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तान जस्तै घर लागेको प्रतिक्रिया दिए।
नेपाल राम्रो देश भएको भन्दै अफ्रिदीले नेपाल भ्रमण गर्न पाउँदा खुशी लागेको बताए। साथै, उनले नेपाली जनता र क्रिकेटलाई साथ र सहयोग गर्न नेपाल आएको प्रतिक्रिया दिए।
अफ्रिदी चौथौ संस्करणमा ईपीएल खेल्ने उच्च प्रोफाइलका खेलाडी हुन्। अफ्रिदीले नेपाल बसाईको क्रममा काठमाडौं किंग्स इलेभेनबाट ललितपुर प्याट्रियट्र्सविरुद्ध र विराटनगर वारियर्सविरुद्ध खेल खेल्ने छन्।
विश्वमा चर्चा कमाइसकेका अफ्रिदीले विश्वका प्रायःजसो फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन्। ४१ वर्षीय अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ एक दिवसीय, ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र १० ओटा इन्डिय प्रिमियर लिग (आईपीएल) र ३ सय ३२ ट्वान्टी–२० खेल खेलेका छन्।
चौथौं संस्करणको ईपीएल शनिबारदेखि २३ गते सम्म आयोजना हुँदैछ। ६ टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।