विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्न प्रदेश सरकारले योजनाबद्ध काम गर्ने बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार विराटनगरमा आयोजना गरेको ‘वायुसेवा कम्पनीहरुको सेवा प्रवाह एवं विमानस्थल सञ्चालनका भावी योजना’ विषयक कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो प्रतिबद्धता जनाएका हुन्।
‘प्रदेश सरकार बनेदेखि नै विराटनगर विमानस्थललाई क्षेत्रीय÷अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास र विस्तार गर्न हामीले पहल सुरु गरेका छौं,’ उनले भने, ‘प्रदेशभरिका विमानस्थल र माउन्टेन फ्लाइटको सम्पूर्ण व्यवस्था यसै विमानस्थलबाट हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।’
प्रदेशको विकासका पूर्वाधारमध्ये पहिलो खुड्किलो हवाइ यातायात भएकाले विराटनगर विमानस्थलको स्तरोन्नतिको काम छिटो गरिने उनको भनाइ छ।
मुख्यमन्त्री राईले विमानस्थलको २४ सय मिटरको रनवेलाई बढाएर ३ हजार मिटर पुर्याउने काममा योजनासहित अघि बढ्न विमानस्थल कर्मचारीलाई आग्रह गरे। उनले भने, ‘हामीले संघीय सरकार र मन्त्रालयसँग पनि यो विषयमा कुरा गरिरहेका छौं।’
विमानस्थलको रनवेसहित स्तरोन्नतिका लागि हाल स्वामित्वमा रहेको १ सय १५ बिगाह जमिनमा करिब ६० बिगाह जमिन थप गर्न अधिग्रहण गर्नुपर्ने आवश्यक्ता रहेको उनले बताए। विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाई सञ्चालन गर्नु सरकारको पहिलो प्राथमिकता भएको उनको भनाइ छ।
कार्यक्रममा प्रदेश १ का उद्योग, पर्यटन, वातावरण तथा वनमन्त्री जगदिश कुसियतले ७ ठूला हिमाल, हजारौं तीर्थस्थल र पर्यटकीय क्षेत्र रहेको प्रदेशको प्रमुख विमानस्थललाई अन्तर्राष्ट्रि«य विमानस्थलमा विस्तार गर्नु आवश्यक रहेको औंल्याए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले विराटनगर विमानस्थललाई छिटो सुधार गरेर अन्तर्राष्टिय उडान भर्न सक्ने बनाउन जरुरी भएको बताए।
कार्यक्रममा विराटनगरका मेयर भीम पराजुलीले विमानस्थल छेउको केसलिया खोलालाई तटबन्ध गरी नियन्त्रणमा राखेर विमानस्थल स्तरोन्नतिको काम गर्नुपर्नेमा जोड दिए।
सरकारी तथा निजी गरी ५ विमान कम्पनीले विराटनगर विमानस्थलमा दैनिक ८ सय यात्रुलाई उडान र अवतरण गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।