काठमाडौं- विश्व क्रिकेटका सुपरस्टार अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने भएका छन्। राष्ट्रपति भण्डारीसँग अफ्रिदीले भोलि भेट गर्न लागेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले पुष्टि गरे।
अधिकारीका अनुसार राष्ट्रपतिसँग शुक्रबार अपराह्न शीतलनिवासमा भेट हुनेछ। भेटका क्रममा राष्ट्रपति भण्डारीले प्रतियोगिताका लागि शुभकामना दिने उनले बताए।
एभरेष्ट प्रिमियर लिग (ईपीएल) आयोजकसँगै सहभागी टोलीले पनि राष्ट्रपतिसँग भेट गर्ने तय भएको छ। तर, भेट्न जानेको नामावली अहिलेसम्म तय नभएको उनले जानकारी दिए।
अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर ईपीएल काठमाडौं किंग्स एलेभेनबाट खेल्ने छन्। उनी आज दिउँसो ३ बजे कतार एयरवेजमार्फत् नेपाल आउँदै छन्।
अफ्रिदी नेपाल आउन लागेका सर्वाधिक ठूला नामका अलराउन्डर हुन्। ४१ वर्षिय अफ्रिदी ठूला सर्ट र स्पिन बलिङका लागि परिचित छन्। उनले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ ओडिआई, ९९ टि२० आई र ३ सय २६ टि२० खेल खेलेका छन्।
अफ्रिदीले सन् १९९६ मा केन्याविरुद्ध ओडिआईमा डेब्यू गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अघि बढाएका थिए। ओडिआईमा ८ शतक र ३९ अर्धशतकसहित कूल ८ हजार ६४ रन बनाएका छन्।
उनले ओडिआईमा ३ सय ९५ विकेट लिएका छन्। टि२० आई अफ्रिदीले २००६ मा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए। उनले टि२० मा १ हजार ४ सय १६ रन बनाएका छन् भने ९८ विकेट लिएका छन्।
ओडिआईमा उनले १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा शतक प्रहार गरेका थिए। जुन खेलमा अफ्रिदी ओडिआईमा शतक प्रहार गर्ने सर्वाधिक कान्छा खेलाडी बनेका थिए । उनले १६ वर्ष २ सय १७ दिनमा श्रीलंकाविरुद्ध शतक बनाउँदै कीर्तिमान कायम गरेका थिए।
२००९ को टि२० विश्वकप जिताउन अफ्रिदीले फाइनलमा श्रीलंकाविरुद्ध ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए। २००७ को टि२० विश्वकपमा अफ्रिदी सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए। २०१६ पछि अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। फ्रेन्चाइज लिग भने निरन्तर खेल्दै आएका छन्। अफ्रिदीसँग झन्डै दुई दर्जन टि२० लिगको अनुभव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।