काठमाडौं- रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहली इन्डियन प्रिमियर लिग (आईपीएल)मा दुई सय खेल खेल्ने पाँचौं खेलाडी बनेका छन्।
कोलकाता नाइट राइडर्ससँग खेलमा खेल्ने निश्चित भएसँगै उनले उक्त कीर्तिमान बनाएका हुन्। आबूधाबीमा नेपाली समयअनुसार ७:४५ बजेबाट सुरु हुने खेलमा बेंगलोर टस जितेर ब्याटिङमा उत्रिँदै छ।
आईपीएलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी भने चेन्नई सुपर किंग्सका महेन्द्रसिंह धोनी हुन्। उनले हालसम्म २ सय १२ खेल खेलेका छन्। धोनीले चेन्नईसँगै राइजिङ पुणे सुपर जाइन्टबाट गरि दुई सय खेल खेलेका थिए।
धोनी पछि मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले २ सय ७ खेल खेलेका छन्। रोहितले मुम्बई र डेक्सन चार्जस गरि उक्त खेल खेलेका हुन्।
कोलकाता विकेटकिपर दीनेश कार्तिकले २ सय ३ खेल खेलेका छन्।उनले कोलकातासहित ६ टोलीबाट उक्त खेल खेलेका हुन्। चेन्नईका सुरेश रैनाले २ सय १ खेल खेलेका छन्। उनले गुजरात लायन्सबाट पनि खेलेका थिए।
कोहलीलाई २००८ मा बेंगलोरले यू१९ को डाफ्टबाट ५० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थिए। २०१३ देखि कोहलीले बेंगलोरको कप्तानी गर्दै आएका छन्।
त्यसअघि २०११ मा पनि केही खेलमा विराटले कप्तानी गरेका थिए। कोहलीले २००८ देखि हालसम्म एकै टोलीबाट खेल्दै आएका छन्। कोहली हालसम्म आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्।
उनले १ सय ९१ इनिङ्समा ६ हजार ७६ रन बनाएका छन्। जसमा ५ शतक र ४० अर्धशतक समावेश छ। उनको कप्तानीमा बेंगलोर २०१५ र २०२० को सिजनमा ‘प्लेअफ’सम्म पुगेको थियो।
कोहलीको कप्तानीमा बेंगलोर २०१६ को फाइनलमा पुगेपनि सनराइजर्स हैदराबादसँग ८ रनले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो।
जारी सिजनमा बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।