काठमाडौं- अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजले चौथो संस्करणको एभरेट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्। गुर्जाबलाई काठमाडौं किंग्स ११ ले चौथो संस्करणको ईपीएलका लागि अनुबन्ध गरेको हो।
उनी काठमाडौंमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी हुन्। काठमाडौंले यसअघि पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी र सिंगापुरका जनक प्रकाशलाई अनुबन्ध गरिसकेको छ।
२० वर्षीय गुर्बाजले अफगानिस्तानका लागि ३ ओडीआई र १३ टि २०आई म्याच खेलेका छन्। गुर्बाजले ४८ टि २० म्याच खेल्दा एक हजार १८६ रन बनाएका छन्। यसपटक काठमाडौंको कप्तानी सन्दीप लामिछानेले गर्दैछन्। यस्तै, प्रशिक्षकमा कलाम अली छन्।
सन्दीपसँगै ओमान टूरमा सिनियर टिममा डेब्यु गरेका १७ वर्षीय फास्ट बलर गुल्सन झा पनि काठमाडौंमा अनुबन्ध भइसकेका छन्। काठमाडौंमा सुवास खकुरेल, जितेन्द्र मुखिया, सिद्धान्त लोहनी, राजु रिजालदेखि अमित श्रेष्ठ, अमर सिंह राउटेला लगायत खेलाडी छन्।
ईपीएल असोज ९ देखि २५ गतेसम्म हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।