काठमाडौं- म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा पूनरागमन जित निकालेको छ।
लन्डन स्टेडियममा आइतबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेडले घरेलु टोली वेस्ट ह्याम युनाइटेडमाथि २–१ को पूनरागमन जित निकालेको हो।
युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले गोल गरे। वेस्ट ह्यामका सेड बेनरहमाको गोल सान्त्वना बन्यो।
खेलको ३०औं मिनेटमा जारोड बोओनको पासमा सेड बेनरहमाको गोलबाट घरेलु टोलीले १–० को अग्रता बनाएको थियो। तर, ३५औं मिनेटमा रोनाल्डोले बराबरी गोल फर्काए।
खेलको अन्त्यतिर सब्सिच्युट जेसे लिंगार्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ को पूनरागमन जित दिलाए। इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा वेस्ट ह्यामले पेनाल्टीमार्फत् खेललाई बराबरीमा ल्याउने मौका गुमायो।
लुक साले पेनाल्टी बक्समा एन्ड्रिए यार्मोलेन्कोको क्रसलाई हातले छोएपछि भिएआरको सहायतामा वेस्ट ह्यामले पेनाल्टी पाएको थियो।नोबलको प्रहारलाई युनाइटेडका गोलरक्षक डेविड डे हेयाले बचाए।
जितसँगै अपराजित रहेको युनाइटेडको ५ खेलबाट १३ अंक पुगेको छ। शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेपनि दोस्रो स्थानमा रहेको छ। पराजित वेस्टह्याम ८ अंक जोडेर आठौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।